काठमाडौं– बलिउड अभिनेत्री कंगना रणावत र विवाद पर्यायवाची जस्तै भइसकेका छन्। कहिले कलाकारिता क्षेत्रसँगै जोडिएको विवाद त कहिले राजनीतिक विषयमा टिप्पणी गरेका कारण विवादमा आइरहन्छिन् कंगना।
हाल फेरि कंगना विवादमा आएकी छन्। भारतको मोदी सरकारले कृषि कानुन फिर्ता लिएको विषयमा कंगनाले गरेको प्रतिक्रियाका कारण उनी फेरि विवादमा आएकी हुन्। उनको विवादले कंगना विरुद्ध ‘देशद्रोह’को मुद्दासमेत दर्ता भएको छ।
हालै मोदी सरकारले फिर्ता लिएको कृषि कानुनको विषयलाई लिएर कंगना रणावतले असन्तुष्टि जनाएकी थिइन्। उनले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको तारिफ गर्दै किसानलाई ‘खालिस्तानी आतंकवादी’ भनेकी थिइन्। कंगनाको यो बयानलाई लिएर भारतको युवा कांग्रेसका सचिव अमरीश रंगन र कानुनी विभागका संयोजक अन्बुज दीक्षितले उनी विरुद्ध दिल्लीमा उजुरी दिएका छन्।
अभिनेत्री रणावतले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा कृषि कानुन फिर्ता भएको सन्दर्भमाथि टिप्पणी गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘खालिस्तानी आतंकवादीले सायद आज सरकारको हात मोडिरहेको छ। तर भारतकी एक मात्र प्रधानमन्त्रीलाई नभुल्नु, जसले यिनीहरुलाई आफ्नो जुत्तामुनि किचेकी थिइन्। उनले यो देशको लागि कति धेरै कुरा सहेकी छिन् भन्ने थाहा छैन्।
उनले आफ्नो जिन्दगीको बदलामा कति मच्छडहरुलाई किचेकी छन्, तर देशलाई टुट्न दिइनन्। उनको मृत्युको दशकौपछि पनि आज उनको नामले यीनिहरु काँप्छन्। यीनिहरुलाई त्यस्तै गुरु चाहिन्छ।’
कंगनाले इन्दिरा गान्धी र उनको सरकारलाई इंकित गर्दै यस्तो लेखेकी थिइन्। उनी थप लेख्छिन्, ‘खालिस्तानी अभियान अघि बढिरहेको समयमा उनको कहानी थप सम्बन्धित लाग्छ।’
स्टेटसको अन्त्यमा कंगनाले आफ्नो आगामी फिल्म ‘इमरजेन्सी’को विज्ञापन पनि गरेकी छिन्। यो फिल्ममा उनी इन्दिरा गान्धीको भूमिकामा देखिदैं छिन्।
कृषि कानुन फिर्ता लिइरहेको समयमा फिल्मको विज्ञापनको नाममा कंगनाले दिएको यो विवादास्पद बयानका कारण उनीविरुद्ध दिल्लीको पार्लियामेन्ट प्रहरी थानामा उजुरी दर्ता भएको छ। युवा कांग्रेसका अमरीश रञ्जन पाण्डे र अंबुज दीक्षित उनीविरुद्ध भारतीय कानुनको धारा ‘१२४ ए (देशद्रोह)’, ‘५०४ (शान्ति भंग गर्ने सोचसहित नियतबस अपमान गर्नु)’ र ‘५०५ (सार्वजनिक रुपमा दंगा गर्ने बयान)’अन्तर्गत मुद्दा दर्ता गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।