काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म)मा मुलुकमा भित्रिने रेमिट्यान्स ७.६ प्रतिशतले घटेको छ। उक्त अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य बढे पनि रेमिट्यान्स घटेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको असोज मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा दुई खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत नेपालीहरुले तीन महिनाभित्र पठाएको रकम हो। गत वर्षको सोही अवधिको तुलनामा यो रकम ७.६ प्रतिशतले न्यून हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। उक्त अवधिमा कूल ६६ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि समीक्षा अवधिमा उल्लेख्य रुपमा बढेको छ। गत साउनदेखि असोज मसान्तसम्म कूल ३४ हजार ८२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आइ दुई खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।