काठमाडौं- चालु आर्थिक वर्षको असोज महिनामा मूल्यवृद्धि ४.२४ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनाको तुलनामा यो ०.४५ विन्दुले बढी हो।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.७९ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकले मंगलबार असोज मसान्तसम्मको मुलुकको वित्तीय अवस्था सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.७२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.६३ प्रतिशत रहेको छ।
गत वर्षको असोज महिनाको तुलनामा यो वर्ष घिउ तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैरमदिराजन्य पेयपदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
समीक्षा महिनामा सबैभन्दा धेरै पहाडमा ५.६८ प्रतिशत मूल्यवृद्धि कायम भएको छ। यस्तै काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।