काठमाडौं– चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने भएको छ। बलिउड अभिनेता तथा निर्माण अर्जुन रामपालले विश्वभर निकै चर्चित रहेको वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्।
उनले ‘थ्री मंकिज’ नाममा सिरिजको हिन्दी संस्करणको छायांकन सुरु गरेको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले ‘मनी हाइस्ट’को हिन्दी अडपटेनिको छायांकन सुरु भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै उनले लेखेका छन्, ‘लाइट्स क्यामेरा एक्सन। फेरि सेटमा एउटा नयाँ यात्राको सुरुवात।’
हिन्दीमा बन्न लागेको वेश सिरिजलाई भारतीय निर्देशकद्वय अब्बास–मस्तानले निर्देशन गर्दै छन्। सिरिजको प्रमुख भूमिकामा अभिनेता रामपाललाई नै देख्न सकिनेछ।
भारतीय सञ्चारमाध्यमकाअनुसार सिरिजमा रामपाल ‘मनी हाइस्ट’का प्रोफेसरको भूमिकामा देखिनेछन्। अर्जुनसँगै सिरिजमा मुस्तफालगायतका कलाकारको अभिनय रहनेछ।
अपराध जन्रको वेब सिरिज ‘मनी हाइस्ट’ नेटफ्लिक्समार्फत सन् २०१७ मा पहिलो पटक सार्वजनिक भएको थियो। हालसम्म सिरिजको दोस्रो सिजन पनि सार्वजनिक भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।