काठमाडौं- १८औं हस्तकला व्यापार मेला तथा १६औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा हुने भएको छ।
नेपाल हस्तकला महासंघको आयोजनामा मङ्सिर ३ गते देखि ५ गतेसम्म काठमाडौंको होटल हायात रिजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रवर्द्धन तथा निर्यात व्यापारमा टेवा पुर्याउने उद्देश्यले मेला गर्न लागेको बताएको छ।
मेलामा १२० भन्दा बढी व्यापारिक स्टल राखिने छन्। यस्तै, निर्यातजन्य विभिन्न ३६ विधाका हस्तकला वस्तुहरुको प्रदर्शनी हुनेछ। करिब ३० हजारभन्दा बढीलाई मेला अवलोकनको निःशुल्क प्रवेश पास वितरण गरिने आयोजनकले जानकारी दिएको छ।
मेला अवलोकन गर्न १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रदर्शनीमा हस्तकला वस्तुहरु निर्यात गर्ने वर्षको उत्कृष्ट उद्यमी सम्मान तथा 'आर्टिस्ट अफ दि इयर' सम्मान प्रदान गर्ने महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए। साथै, हस्तकलाका विभिन्न विधामा संलग्न ७० वर्ष नाघेका १० जना ज्येष्ठ नागरिक तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।
यस्तै, परम्परागत तथा समसामयिक हस्तकला विधामा कला प्रतियोगिता हुने पनि उपाध्यक्ष शाक्यले बताए।
हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। मेला तीन दिनसम्म चल्नेछ। मेलामा झण्डै तीनदेखि पाँच करोड रुपैयाँसम्म कारोबार हुने महासंघले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।