काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान तथा भारतीय व्यवसायी राज कुन्द्राका विरुद्धमा भारतको मुम्बईस्थित बान्द्रा प्रहरीमा ठगीको उजुरी परेको छ।
नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले सन् २०१४ यता स्पा र जिमको फ्रेन्चाइज दिने नाममा आफूलाई ठगी गरेको आरोप लगाएका छन्।
उजुरी दिने व्यक्ति नितिनले शिल्पा र राजले उनलाई १ करोड ५९ लाख २७ हजार भारु बराबरको ठगी गरेको बताएका छन्। आफूले ‘मेसर्स एसएफएल प्राइभेट कम्पनी’को नामबाट भारतको पुणेमा जिम र स्पाको फ्रेन्चाइज खोलेपछि पैसा दिएको नितिनले बताएका छन्।
तर, उक्त रकम राज र शिल्पाले आफ्नो व्यक्तिगत काममा प्रयोग गरेको र फ्रेन्चाइजको नाममा ठगी गरेको उनको आरोप छ।
निनितले दिएको उजुरीपछि शिल्पा र राजलाई प्रहरीले छिट्टै सोधपुछका लागि बोलाउने बताइएको छ।
केही समयअघि पोर्नोग्राफीको मुद्दामा आरोपित भएका राज जेलबाट धरौटीमा रिहा भएपछि सार्वजनिक रुपमा देखा परेका छैनन्। गत नोभेम्बरको सुरुवातमा नै उनले आफ्नो ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल पनि डिलिट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।