काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएसँगै उक्त कार्यक्रम प्रसारण हुने समयमा उमेश राईको कार्यक्रम ‘फुलन्दे स्पेसल’ प्रसारण हुने भएको छ। जितु नेपालले सञ्चालन गरिरहेको कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’कै टिममा रहेका उमेश राई (फुलन्देकी आमा)ले सञ्चालन गर्ने नयाँ कार्यक्रम यो समयमा प्रसारण हुन लागेको हो।
उमेशसँगै करिष्मा मानन्धर, राजेन्द्र नेपालीलगायत रहेको जितु नेपालले सञ्चालन गरिरहेको कार्यक्रम हरेक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको थियो। कार्यक्रमको निर्माण गरिरहेको कम्पनी ‘कि इन्टरटेनमेन्ट’ले टिमका सदस्य उमेशलाई लिएर नयाँ कार्यक्रम ल्याउने भएपछि नेपालले सञ्चालन गरिरहेको कार्यक्रम बन्द भएको थियो।
उमेशले ल्याउने नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’को बारेमा भने पत्रपत्रिकामा विज्ञापन गर्दै जानकारी दिइएको छ। कार्यक्रम हरेक सोमबार जितु नेपालले सञ्चालन गरिरहेकै कार्यक्रमको समयमा नेपाल टेलिभिजनबाटै प्रसारण हुनेछ।
आफ्नो टिममा रहेका कलाकारलाई लिएर नयाँ कार्यक्रमको घोषणा भएपछि जितु नेपालले आफ्नो कार्यक्रम बन्द भएको घोषणा गरेका थिए। गत साता राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफूले हुर्काएको कार्यक्रमलाई एक्कासी बन्द गर्नुपर्दा आफू दुःखी भएको उनले बताएका थिए। नेपाल लाइभसँगको कुराकानीमा उनले केही समयको ब्रेकपछि फेरि टेलिभिजनमै कार्यक्रम लिएर फर्किने बताएका छन्।
अर्कातिर, नयाँ कार्यक्रम लिएर आइरहेका उमेशले भने आफूले जितु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’को टिमलाई घोका नदिएको बताएका छन्। उनले केही युट्युबरहरुसँगको कुराकानीमा यस्तो बताएका हुन्।
दुवै कार्यक्रमको निर्माण गरेको कम्पनी ‘कि इन्टरनेटमेन्टस’ले नेपाल टेलिभिजनसँग ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण गर्न किनेको समयको अवधि अझै केही समय बाँकी छ। सो समयावधीभर उमेश राईले सञ्चालन गर्ने नयाँ कार्यक्रम प्रसारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।