काठमाडौं- बलिउड अभिनेत्री कंगना रणावत आफ्नो अभिनयभन्दा बढी विवादका कारण चर्चामा रहन्छिन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म उनको विवादको चर्चा चुलिरहन्छ।
यसबीच कंगना रणावतले भारतलाई ‘२०१४ मा वास्तविक स्वतन्त्रता’ मिलेको भन्ने अभिव्यक्ति दिएपछि उनी पुन: विवादमा तानिएकी छिन्। सामाजिक सञ्जालमा अहिले कंगनाको विरोधमा गरिएका ट्वीटहरु ‘ट्रेण्ड’ गरिरहेका छन्।
कंगनाले ८ नोभेम्बरमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट पद्मश्री पुरस्कार पाएकी थिइन्। यो पुरस्कार उनले पाएको हालसम्मकै प्रतिष्ठित पुरस्कार हो। तर, कंगनाले स्वतन्त्रताको विषयमा दिएको अभिव्यक्तिका कारण उनले पाएको पद्मश्री पनि फिर्ता लिनुपर्ने आवाज सामाजिक सञ्जालदेखि भारतीय राजनीतिमा पनि उठिरहेको छ।
भारतको एक टेलिभिजनको वार्षिक उत्सवको अवसमा आयोजित कार्यक्रममा अतिथिको रुपमा बोलाइएकी कंगनाले भारतको स्वतन्त्रताको विषयमा दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएकी हुन्।
उनले भनेकी थिइन्, ‘यी मानिसहरुले रगत बग्छ भन्ने थाहा पाएका थिए। तर, त्यो हिन्दुस्तानी रगत हुनु हुँदैन भन्ने थियो। उनीहरुलाई यो पनि थाहा थियो। जसकारण उनीहरुलाई एक पुरस्कार दिनपर्छ। त्यो स्वतन्त्रता थिएन्, भिख थियो। हामीलाई वास्तविक स्वतन्त्रता त २०१४ मा मिलेको हो।’
कंगनाले भारतको स्वतन्त्रताको लडाईंको विषयमा सावरकर, लक्ष्मीबाई र सुभाषचन्द्र बोसमाथि टिप्पणी गर्दै यस्तो अभिव्यक्ति दिएकी थिइन्।
कंगनाको यो अभिव्यक्तिपछि बलिउडसँगै भारतीय राजनीति पनि उनको विपक्षमा उत्रिएको छ। भारतीय जनता पार्टीका एक सांसद वरुण गान्धीले सामाजिक सञ्जालमा कंगनाको आलोचना गर्दै लेखेका छन्, ‘कुनै बेला महात्मा गान्धीले त्याग र तपस्याको अपमान, कहिले उनको हत्याराको सम्मान र अहिले शहीद मंगल पाण्डेयदेखि रानी लक्ष्मीबाई, भगत सिंह, चन्द्रशेखर आजा, नेताजी सुभाषचन्द्र बोस र लाखौं स्वतन्त्रताका लागि लड्नेहरुको त्याजलाई अस्वीकार। यो सोचलाई म पागल पन भनु वा देशद्रोह?’
अर्कातिर, कंगनाको अभिव्यक्तिलाई लिएर उनले पाएको पद्मश्री पुरस्कार पनि फिर्ता गर्नुपर्ने कुरा उठेको छ। भारतको महिला कांग्रेसकी अध्यक्ष नेता डिसुजाले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई चिट्ठी लेख्दै कंगनाले स्वतन्त्रताका लागि लड्नेहरुको अपमान गरेकाले पद्मश्री फिर्ता गर्नुपर्ने बताएकी छिन्। उनले लेखेकी छिन्, ‘उनले स्वतन्त्रताको आन्दोलनको पनि मजाक बनाएकी छिन्। यस्तोमा कंगनामाथि कारबाही गर्नुपर्छ र उनको पद्यश्री पनि फिर्ता लिनुपर्छ।’
कंगनाको विरोधमा भारतको आमआदमी पार्टी पनि रहेको छ। पार्टीका कार्यकारिणी सदस्य प्रीति शर्मा मेननले कंगनाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी दिनुपर्ने माग राखेकी छिन्। उनले भनेकी छिन्, ‘मुम्बई प्रहरीबाट कारबाही हुने आशा छ। कंगनामाथि भारतीय अपराध संहिताअनुसार कारबाही हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।