काठमाडौं– केही समयअघि ओटिटी (ओभर द टप) माध्यमबाट प्रसारण हुने भनिएको हास्य श्रृङ्खला ‘सक्किगोनी’ फेरि युट्युबबाटै प्रसारण हुन थालेको छ। ओटिटी माध्यमबाट प्रसारण भइरहेको कार्यक्रम अबदेखि निर्माण कम्पनी ‘जेपीटी क्रिएसन प्राली’को आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण हुन थालेको हो।
कार्यक्रमका कलाकार अर्जुन घिमिरे (पाँडे)का अनुसार युट्युबमा यही हप्तादेखि सक्किगोनी नियमित रुपमा प्रसारण भएको छ। उनी भन्छन्, ‘आजबाट जेपिटी क्रियसनको युट्युबमा बेलुकी ९ बजे सक्किगोनी निरन्तर रुपमा आउने छ। केही हप्ता पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थी छौं।’
कार्यक्रमको दोस्रो सिजनको ४२ औं भाग बिहीबार साँझ युट्युबमा राखिएको छ।
हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम यसअघि विभिन्न ओटिटी माध्यमबाट प्रसारण गर्ने गरिएको थियो। ओहो मुभिज, क्लियर टिभी, भाया टिभी, डिशहोम गो, नेटटिभीलगायतका ओटिटी माध्यमबाट प्रसारण हुने कार्यक्रम हेर्न दर्शकले प्रति एपिसोड १९ रुपैयाँ तिर्ने गरेका थिए।
तर, ओटिटीमाध्यमसँग गरेको सम्झौतामा केही असमझदारी भएपछि कार्यक्रमलाई पुनः युट्युबमै निःशुल्क हेर्न मिल्ने गरि राख्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।