काठमाडौं- इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलोन मस्कले आफ्नो कम्पनीको करिब १.१ बिलियन डलरको सेयर बेचेका छन्।
केही दिनअघि मस्कले सामाजिक सञ्जालमा आफ्ना लाखौं फलोअरहरूलाई टेस्ला कम्पनीको १० प्रतिशत सेयर बेच्नेबारे सर्वेक्षण गरेका थिए।
यो प्रश्नको जवाफमा अधिकांशले बोच्दा हुन्छ भन्ने प्रतिकृया दिएका थिए। त्यसपछि दुई दिनमा कम्पनीको सेयर १६ प्रतिशतले घटेपछि बुधबार नै सेयरको स्थितिमा केही सुधार आएको हो।
टेस्ला संसारको सबैभन्दा मूल्यवान कार निर्माता हो। सेयर बजारमा कम्पनीको मूल्यांकन करिब एक ट्रिलियन डलर रहेको छ।
अमेरिकी शेयर बजार नियामक निकायका कागजातका अनुसार मस्कले कम्पनीको ९ लाख ३० हजार सेयर बिक्री गरिसकेका छन्, जुन कम्पनीमा उनको ०.५ प्रतिशत सेयर रहेको छ।
सेप्टेम्बरदेखि नै मस्कले सेयर बेच्ने योजना बनाएका थिए। केही दिन अघि मस्कले ट्विटरमा आफ्ना फलोअरहरूलाई सोधेका थिए,‘के मैले मेरो टेस्ला सेयरको १० प्रतिशत कर तिर्नु पर्छ?’
ट्वीटर पोलको बारेमा उनले लेखेका छन्, ‘मानिसहरूले जे भन्छन्, म मान्ने छु।’ यस पोलमा उनले ३५ लाख भोट पाएका थिए, जसमध्ये ५८ प्रतिशतले सेयर बेच्नुपर्ने बताएका थिए।
मस्कले टेस्लाबाट नगदमा पैसा नपाएको पनि बताएका छन्। उनले भने,‘कम्पनीको स्टक मात्रै हो, त्यसैले कर तिर्ने एक मात्र उपाय मेरो सेयर बेच्नु हो।’
यसअघि मस्कले सन् २०१६ मा आफ्नो सेयर बेचेका थिए। त्यतिबेला उनले ६० करोड डलरको आयकर तिर्न आफ्नो सेयर बेचेका थिए।
उनीसँग अझै पनि कम्पनीको १.७ मिलियन शेयरहरू छन् र उनको व्यक्तिगत सम्पत्तिको मूल्य २८० बिलियन भन्दा बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।