काठमाडौं- चिनियाँ सरकारले आफ्ना नागरिकहरुलाई आपतकालिन तयारीका लागि अत्यावश्यक वस्तुहरू भण्डारण गर्न आग्रह गरेको छ। देशको वाणिज्य मन्त्रालयले जारी गरेको सूचनामा कुनै कारण भने दिइएको छैन।
तर, यसको कारण कोरोना पछिको लकडाउन र भारी वर्षाका कारण बालीमा नोक्सानी भएको अनुमान गरिएको छ। मन्त्रालयले उचित आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न अधिकारीहरूलाई पनि आग्रह गरेको छ।
यो सूचना पछि कतिपय ठाउँबाट सामान किनेको घुइँचो लागेको सरकारी मिडियाले जनाएको छ।
चिनियाँ सामाजिक सञ्जाल साइट वेइबोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो खबर बाहिर आउने बित्तिकै मेरो वरपरका सबै बुढापाकामा त्रास सिर्जना भयो। सुपरमार्केटमा किनमेल गर्नेहरूको भीड थियो।’
चिनियाँ कम्युनिष्ट पार्टीको अखबार ‘द इकोनोमिक डेली’ले आफ्ना पाठकहरूलाई नआत्तिन सल्लाह दिएको छ।
चीनमा सामान्यतया हिउँदमा खाद्यवस्तुको भाउ बढ्ने भए पनि यसपटक भारी वर्षाका कारण तरकारीको भाउमा भारी उछाल आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।