काठमाडौं- १८ दिनदेखि पश्चिम अस्ट्रेलियाको पहाडी क्षेत्रमा हराइरहेकी ४ वर्षीया बालिका फेला परेकी छन्।
अस्ट्रेलियन प्रहरीका अनुसार उनी एक घरमा बन्दरहेको अवस्थामा सकुसल फेला परेकी हुन्।
क्लियो स्मिथ १६ अक्टुबरमा कार्नारवोन शहरको नजिक एक शिविरमा आफ्नो परिवासित टेन्टमा बसेको बेलामा हराएकी थिइन्। उनी हराएसँगै उनको तिव्र खोजी गरिएको थियो।
उनी हराएसँगै एक ३६ वर्षीय व्यक्तिलाई हिरासतमा लिइएर सोधपुछ गरिएको थियो।
फोरेन्सिक सुराकीपछि प्रहरीले बुधबार कार्नारवोनमा एक घरमा प्रवेश गरेर तोडफोड गरेको बीबीसीले जनाएको छ। डब्ल्यूए प्रहरीका डेप्युटी कमिशनार ब्ल्याचले भनेका छन् , "उनीहरुलाई एक कोठामा प्यारी क्लियो फेला परेकी थिइन्।"
"प्रहरीहरुमध्ये एक जनाले उनलाई आफ्नो अंगालोमा लिए र सोधे, 'तिम्रो नाम के हो?' उनले भनिन् 'माई नेम इज क्लियो'।"
बालिकालाई उनका आमा बुलाको जिम्मा लगाइएको छ।
अधिकारीहरुले हिरासतमा लिइएका व्यक्तिको स्मिथ परिवारसँग कुनै सम्बन्ध नभएको बताएका छन् र उनीमाथि कुनै आरोप नलगाइएको जनाइएको छ।
जुन घरमा क्लियो फेला परेकी थिइन् उक्त घर कार्नारवोनमा उनको परिवारको घरबाट लगभग ६ मिनेटको गाडीको दूरीमा रहेको छ। जहाँ करिब ५ हजार मानिसको बसोबास रहेको छ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले ट्वीटमा भनेका छन् "अद्भुत, राहत दिने समाचार"।
अष्ट्रेलियाको पर्थबाट नौ सय किलोमिटर उत्तरतर्फ पर्ने उक्त स्थानमा दुईओटा टेन्टमा सुतेका उनीहरुमध्ये बिहान क्लियो स्मिथ हराएकी थिइन्। उनी हराएसँगै खोजीका लागि ठूलो संख्यामा प्रहरी खटाइएको थियो। प्रहरीले बालिकाको बारेमा सूचना दिने मानिसलाई १० लाख अष्ट्रेलियन डलर दिने घोषणासमेत गरेको थियो।
यो घटनाले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पाएको थियो।
प्रहरीले बालिका खोज्ने क्रममा घाँसले भरिएको चउरमा एक सई खोज्नु जस्तो भएको बताएको थियो। त्यसक्रममा हजारौं जानकारी संकलन गरिएको प्रहरीले जनाएको छ।
एबीसी न्यूजका अनुसार घरमा बस्ने एक व्यक्तिलाई छिमेकीले हालसालै बालबालिकाका लागि डाइपर किनिरहेको देखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।