अमेरिकी राष्ट्रपति बाइडन, फाइल तस्बिर
ग्लास्गो– जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) मा सहभागी नभएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले चीन र रुसका राष्ट्रपतिको आलोचना गरेका छन्।
कोप २६ मा अनुपस्थित भएको भन्दै बाइडनले चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका हुन्।
मंगलबार राति आफ्नो भाषणमा बाइडेनले जलवायु परिवर्तन एक महत्वपूर्ण मुद्दा भएपनि चीन र रुस सम्मेलनमा सहभागी नभएको र यो मुद्दाबाट टाढिएको टिप्पणी गरे।
बाइडनले कोप २६ मा अनुपस्थित भएर चिनियाँ राष्ट्रपति सीले 'ठूलो गल्ती' गरेको पनि टिप्पणी गरे। 'वास्तविकता यो हो कि चीन जो स्पष्ट रुपमा विश्वको लिडरका रुपमा आफ्नो एक नयाँ भूमिकामा जोड दिने कोसिस गरिरहेको छ– उ देखिएन।'
पुटिनको बारेमा टिप्पणी गर्दै बाइडनले रुसी जंगलमा लागेको आगोबारे 'राष्ट्रपति चुप लागेको' बताए।
कोप २६ सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी नभए पनि ती देशले आफ्ना प्रतिनिधि पठाएका छन्। कोप २६ सम्मेलनमा १२० भन्दा बढी मुलुकका नेताहरु सहभागी छन्।
नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली सम्मेलनमा सहभागी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।