काठमाडौं- नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको छ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो।
दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ। प्राधिकरणले मङ्गलबार राति १२ बजेबाट ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत् विद्युत् निर्यात सुरु गर्नेछ। हाल यो लाइनबाट विद्युत् आयातमात्र भइरहेको छ।
नेपालले भारतीय ऊर्जा एक्सचेञ्ज (आईआईएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ। प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आईआईएक्समार्फत् प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो। निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ।
दुई मुलुकको विद्युत् व्यापारमा कोशेढुङ्गा : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेञ्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन्।
‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो,’ उनले भनिन्, ‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ।’ मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलेको अवस्थासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारबाला निकायलाई धन्यवाद दिइन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल-भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए। नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालको जलविद्युत् विकासमा ठूलो ढोका खुलेको उनले बताए।
‘विद्युत् निर्यातको सुरुआत थोरै परिमाणबाट भए पनि चाँडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ,’ उनले भने।
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्नेछ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेञ्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ। विद्युत् प्रणालीमार्फत् तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्रीदर तय हुनेछ। प्रतिस्पर्धी दर तय भएपछि रातको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात हुनेछ। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेञ्ज मार्केटमा प्रतियुनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो।
प्राधिकरणकोतर्फबाट एक्सचेञ्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्नेछ। एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।