काठमाडौं- भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण भएको छ।
केही दिनअघि बंगलादेशमा हिन्दू समुदायमाथि भएको हिंसात्मक आक्रमणको बदला स्वरुप त्रिपुराका मुस्लिमलाई लक्षित गरी आक्रमण भएको बताइएको छ।
टीआरटी वर्ल्डका अनुसार त्रिपुराका मस्जिद, मुस्लिम समुदायका पसल र घरमाथि दक्षिणपन्थी समूहले आक्रमण गरेका छन्।
मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण हुन थालेपछि भारतीय सुरक्षाकर्मीले मस्जिदको सुरक्षा गरिरहेको समाचारमा उल्लेख छ।
त्यहाँ कम्तिमा चारवटा मस्जिदमा तोडफोड भएको जनाइएको छ। मुस्लिम समुदायका केही घर र पसलसमेत तोडफोड गरिएको छ।
त्रिपुराको उत्तरी क्षेत्रमा अवस्था निकै तनावपूर्ण भएपछि ४ जनाभन्दा मानिस भेला हुन नपाउने नियम लागू गरिएको छ।
त्रिपुरामा भारतीय जनता पार्टीको सरकार छ। सन् २०१४ मा हिन्दू राष्ट्रवादी पार्टी सरकारमा आएयता आफूहरुमाथि हमला हुन थालेको मुस्लिम समुदायका अगुवाहरूले आरोप लगाउँदै आएका छन्।
केही दिनअघि दूर्गापूजाका क्रममा हिन्दू देवताको घुँडामाथि कुरान राखेको फुटेज बाहिरिएपछि मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दू मन्दिरमाथि एक समूहले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको थियो।
बंगलादेशको प्रहरीले हिन्दूमाथि आक्रमण गरेको आशंकामा झण्डै ५ सय जनालाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।