काठमाडौं- अफ्रिकी युनियनले सुडानलाई निलम्बन गरेको छ। संक्रमणकालीन परिषद्को ‘प्रभावकारी पुनर्स्थापना’ गर्दै सुडानलाई निर्वाचनतर्फ अग्रसर नगरेसम्मको लागि युनियनले निलम्बन गरेको हो।
योसँगै सुडान युनियनका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने छैन।
सोमबार सेनाले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित सरकारका अन्य पाँच वरिष्ठ अधिकारीलाई पक्राउ गरेको थियो।
लगत्तै शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गरेका थिए।
त्यस्तै, उनले सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराएका छन्। यद्यपि, सेनाको उक्त कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आपत्ति जनाएको छ।
हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको छ। हाल उनी राजधानी खार्तुमस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ।
सेनाले सत्तापलटपछि हामदोकसहित अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरी नजरबन्दमा राखेको थियो। तर, मंगलबार उनी नजरबन्द मुक्त भएका हुन्।
नजरबन्दमा रहेका अन्य अधिकारी भने सेनाको नियन्त्रणमै छन्। उनीहरुको अवस्था अज्ञात रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।