काठमाडौं- सुडानमा सैन्य कदमको विरोधमा सडक उत्रिएकामाथि सेनाले गोली चलाउँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ।
घटनामा अन्य ८० जना घाइते भएको सुडानी चिकित्सा केन्द्रीय समितिले जानकारी दिएको छ।
सोमबार सेनाले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित सरकारका अन्य पाँच वरिष्ठ अधिकारीलाई पक्राउ गरेको थियो।
लगत्तै शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गरेका छन्।
त्यस्तै, उनले सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराएका छन्।सेनाको उक्त कदमविरुद्ध प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनतालाई सडकमा आएर प्रदर्शन गर्न अपील गरेको थियो।
त्यसलगत्तै हजारौं प्रदर्शनकारीहरु राजधानी खार्तुम र ओमदुर्मनको सडकमा उत्रिएर सेनाको कदमविरुद्ध प्रदर्शन गरिरहेका छन्।
‘पछिल्लो घटनाक्रमलाई लिएर जनताहरु सडकमा उत्रिएका छन्। सैनिक मुख्यालय अगाडि प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा धेरै घाइते भएका छन्,’समितिले भनेको छ।
यता, अलजजिराका सम्वाददाता हिबा मोर्गनले सेनाले गोली चलाउँदा तीनजनाको मृत्यु भएको जानकारी दिए।
‘एक राजनीति समूहको रिपोर्ट अनुसार कम्तीमा तीनजना मारिएका छन्,’ उनले भने,‘धेरै घाइते भएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।