काठमाडौं- सुडानी सेनाले सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको छ।
शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गरेका छन्। त्यस्तै, उनले सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराए।
सन् २०१९ मा नागरिक र सैन्य नेतृत्वबीच संक्रमणकालीन सरकार गठनका लागि भएको सहमतिले सत्ता संघर्ष निम्त्याएको र मुलुकको शान्ति-सुरक्षा जोखिममा परेको उनले बताए।
साथै,उनले प्रान्तीय गर्भनरलाई पदच्युत गरिएको र २०२३ जुलाईमा निर्वाचन गरिनेसमेत घोषणा गरेको छ।
यसैबीच,सेनाले प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई गिरफ्तार गर्दै नजरबन्दमा राखेपछि उनको कार्यालयले जनतालाई सडकमा आएर प्रदर्शन गर्न अपील गरेको छ।
‘हामी सुडानी जनतालाई सभ्भव भएका सबै शान्तिपूर्ण उपाय अपनाएर विरोध प्रदर्शन गर्न अपील गर्दछौं,’ प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ,‘जनताले चोरहरुको हातबाट आफ्नो क्रान्ति जोगाउनुपर्छ।’
सोमबार सेनाले प्रधानमन्त्री हामदोकसहित सरकारका अन्य पाँच वरिष्ठ अधिकारीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिद रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।