काठमाडौं- म्यानमारको सेनाले अधिकारवादी नेता को जिम्मीलाई पक्राउ गरेको छ।
म्यानमारमा सैन्य ‘कू’विरुद्ध आवाज दबाउने उद्देश्यका साथ सेनाले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्। उनको वास्तविक नाम भने ‘क्याव मिन यू’ हो।
सेनाले उनलाई आइतबार यान्गुनस्थित उनकै निवासबाट पक्राउ गरेको अलजजिराले बताएको छ।
उनकी पत्नीका अनुसार उनलाई कहाँ राखिएको छ भन्ने जानकारीसमेत सेनाले दिएको छैन।
‘उहाँ अन्य दुई कार्यकर्ताहरूसँग एक सुरक्षित घरमा बसिरहनु भएको थियो,’उनकी पत्नी निलार थेनले एएफपी समाचार एजेन्सीसँग भनिन्,‘मलाई डर छ मैले उहाँलाई जिउँदै भेट्न पाउँदिनँ।’
आफैं पनि पक्राउ पर्ने डरले प्रहरी कार्यलय जान नसकेको उनले बताइन्। जिम्मी सन् १९८८ मा म्यानमारमा सैन्य शासनविरुद्ध भएको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता थिए।
उनी २००७ मा पनि तत्कालीन सेनाको सरकारविरुद्ध भएको प्रदर्शनको क्रममा पक्राउ परेका थिए। करिब ५ वर्षपछि अर्थात् २०१२ मा उनी रिहा भएका थिए।
म्यानमारको सेनाले यसअघि नै जिम्मीविरुद्ध समाजमा अस्थिरता उत्पन्न गर्न सहयोग गरेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो।
तर, म्यानमारमा सैन्य ‘कू’विरुद्ध भएको प्रदर्शनको कारण उनलाई अहिलेसम्म पक्राउ भने गरेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।