काठमाडौं- भारतको उत्तराखण्डमा बाढीमा परी तीन नेपाली मजदुरको मृत्यु भएको छ। सोमबार बाढीको कारण उत्तराखण्डमा मृत्यु हुने पाँचमध्ये तीन नेपाली मजदुर हुन्।
उत्तराखण्डको पाउरी जिल्लाको सामखालमा टेन्टमा बसेका तीन मजदुरको बाढीले बगाउँदा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ। यद्यपि, समाचारमा उनीहरुको पहिचान भने खुलाइएको छैन।
भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो। उत्तराखण्डमा विगत दुई दिनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मुसलधारे बर्षाले राज्यका धेरै भागहरुमा बाढी र पहिरो गएको छ।
भारी वर्षाले राज्यमा कहर मच्चाएको छ। अधिकारीहरूले बद्रीनाथ चारधाम यात्रालाई स्थितिमा सुधार नभएसम्म यात्रा नगर्न तीर्थालुहरुलाई सुझाएका छन्।
बाढीको कारण रामनगर–रानीखेत रुटको लेमन ट्रि रिसोर्टमा रहेका करिब एकसय मानिसहरु थुनिएका छन्। अहिले उनीहरुको उद्धारको काम चलिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुख्यमन्त्री पुष्करसिंह धामी र केन्द्रीयमन्त्री अजय भट्टसँग टेलिफोन वार्ता गर्दै उत्तराखण्डमा पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।