काठमाडौं– म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीबन्दीलाई रिहा गर्न सोमबार आदेश दिइएको छ। देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको अन्तराष्ट्रिय समाचारमा उल्लेख छ।
गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कु’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा हुन थालेका छन्।
मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो।
कारागारमा रहेकामध्ये अरू चार हजार ३२० जनाको बारेमा भने देशका विभिन्न अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ।
सो समयमा जेल परेकामध्ये ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन्।
अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनलाई उद्धृत गरी समाचारमा जनाइएको छ।
क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ।
प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको थियो भने देशभित्र आन्दोलन भएको थियो।
आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ।
अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।