काठमाडौं- बंगलादेशमा जारी साम्प्रदायिक हिंसाले सोमबारसम्म पनि उग्र रुप लिएको छ। गत गत बुधबार कुरानको अपमान भएको भन्दै हल्ला चलाइएपछि कोमिला र चाँदपुरलगायत देशका धेरै भागहरुमा मन्दिर र दूर्गा पूजा स्थलहरुमा आक्रमण भएको थियो।
यही क्रममा राजधानी ढाका र नोआखलीमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो। उक्त झडप ढाकाको पल्टनका बैतुल मुकर्रम मस्जिद, ककरैल इलाका र नोआखलीको चौमूहनीमा शुक्रबारको प्रार्थनापछि भएको थियो।
यसैको प्रतिशोधमा कट्टरवादीहरुले आइतबार राति पीरगंजमा करिब ६० वटा घर जलाएको बंगलादेशको मिडिया ढाका ट्रिब्युनले जनाएको छ।
यद्यपि, घर जलाएको सूचना सामाजिक सञ्जालमार्फत् फैलिएकोले घटनाबारे अनुसन्धान गरिने बंगलादेश प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हिंसा भड्काउने करिब ३ सय मानिसलाई पक्राउ गरिएको छ।
शुक्रबार आक्रमणमा परी ६ जनाको मृत्यु भएको थियो। सो घटनापछि विभिन्न सहरमा आन्दोलन गरिएको थियो। आन्दोलन उग्र बन्दा शनिबार र आइतबार गरी करिब ८ जनाले ज्यान गुमाएका थिए।
यता, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मन्दिरमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएकी छन्। ‘अपराधी कुन धर्मको हो भन्ने कुराले फरक पर्दैन। दोषीहरुलाई पक्रेर सजाय दिइन्छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।