काठमाडौं- आईसीसी टि२० विश्वकप अघिको वार्मअप खेलमा पाकिस्तानले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ५० रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यता, फखर जमान ४६ रनमा अविजित रहे। शोएब मलिक १४ रनमा अविजित रहे।
ओपनर मोहम्मद रिजवान १३ र मोहम्मद हफिज शून्यमा आउट भए। वेस्टइन्डिजका स्पिनर हेडन वाल्श जुनियरले सर्वाधिक २ विकेट लिए। रवि रामपाउलको नाममा १ विकेट रह्यो।
त्यसअघि आईसीसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो।
वेस्टइन्डिजका शिम्रन हेटमायरले सर्वाधिक २८ रनको योगदान दिए। कप्तान काइरन पोलार्ड २३ रनमा अविजित रहे।
क्रिस गेल २०, लेन्डन सिमन्स १८, निकोलस पुरन १३ र रोश्टन चेश ९ रनमा आउट भए।
पाकिस्तानका हसन अली, हरिस रौफ र शाहिन शाह अफ्रिदीले २/२ विकेट लिए। इमाद वासिमको नाममा १ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।