काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोमिलामा हिन्दू मन्दिरमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएकी छन्।
गत बुधबार कुरानको कथित अपमान भएको भन्दै हल्ला चलाइएपछि कोमिला र चाँदपुरलगायत देशका धेरै भागहरुमा मन्दिरहरु र दूर्गा पूजा स्थलहरुमा आक्रमण भएको थियो।
हसिनाले दुर्गा पूजा स्थलमा भएको आक्रमणको छानबिन गरिने र कुनै अपराधीलाई नछाड्ने बताएका छन्।
‘अपराधी कुन धर्मको हो भन्ने कुराले फरक पर्दैन। दोषीहरुलाई पक्रेर सजाय दिइन्छ,’ उनले भनिन्। बंगलादेशमा अल्पसंख्यक हिन्दूहरुले दूर्गा पूजा गरिरहेका अवस्थामा आक्रमण भएपछि हिन्दू मन्दिर एवं हिन्दूहरुमाथिको आक्रमण झनै बढेको छ।
यही क्रममा राजधानी ढाका र नोआखलीमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो। उक्त झडप ढाकाको पल्टनका बैतुल मुकर्रम मस्जिद, ककरैल इलाका र नोआखलीको चौमूहनीमा शुक्रवारको प्रार्थनापछि भएको थियो।
नोआखलीको बेगमगञ्जको चौमुहानीमा हिन्दू समुदायको घर र पसललाई निशाना बनाइएको खबरहरु पनि आएका छन्। जसको क्रममा जतनकुमार साहा नामक एक व्यक्तिको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।