काठमाडौं- म्यानमारको सैनिक सरकारले जेलमा रहेका ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी सेनाले ‘कू’ गरेसँगै विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई म्यानमारको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।
म्यानमारमा आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा देशमा हाल जारी संकटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार सैन्य सरकार प्रमुखले उनीहरुलाई रिहा गर्न लागेको जानकारी दिएका छन्।
अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताए।
प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ। ‘कू’को विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ।
अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन्।
जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो। रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।