काठमाडौं– बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको छ। बेलायती अधिकारीहरुका अनुसार बुधबार मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएका छन्। पछिल्ला केही दिनमा संक्रमण झन् बढेको उनीहरुको भनाइ छ। बुधबार पछिल्लो २४ घन्टामा ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन्।
सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ संक्रमितको संख्यामा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ।
यो समेतगरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ। यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।
यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।