काठमाडौं– हवाई सेवा प्रदायक कम्पनीका लागि दशैं विजनेसको उपयुक्त अवसर हो। निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ। आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ। उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाजले घाम ताप्ने, निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ।
यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए। असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै थिए, 'वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन्। जहाज घाममा सुकाएर त पैसा आउँदैन। जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ।'
पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा १० देखि १५ करोड खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताएका थिए।
पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर पनि हो। पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दशैं, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन्।
एयरलाइन्सको व्यापार बढेको छ। दशैंका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ। अहिले सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ। सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउने गरिएको यात्रुहरु नै बताउँछन्।
आन्तरिक हवाई यात्रुको चाप बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ। निजीले व्यापार ओगट्ने, तर निगम रमिते जस्तो मात्रै बनेको छ।
वायुसेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन्। ती पनि बेलाबेला बिग्रिरहन्छन्। निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ। ती जहाज विमानस्थलमै थन्किएका छन्।
निगमले राजधानी काठमाडौं बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ।
निगमको टिकटका लागि निगमका उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ। निगमका एक उच्च अधिकारीका अनुसार दशैंमा सर्वसाधरणले टिकट पाउँदैनन्, पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन्।
पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन। जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकिएको निगमका अधिकारीको भनाइ छ। 'आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ सोही अनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन,' निगमका एक निर्देशकले भने।
अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्डह्यान्डलिङ) बापत हुने आम्दानीको भरमा निगम धानिएको छ। निगमलाई धानेकै ग्राउन्डह्यान्डलिङ सेवाले हो। झण्डै ५० अर्ब आर्थिक ऋणभार बेहोरिरहेको निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन्। यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्न सकेका छैनन्।
अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले करिब २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ। उडानका हिसाबले अहिले अन्तर्राष्ट्रियको भरमा मात्रै निगम चलेको छ। आन्तरिकमा मात्रै उपस्थिति रहेको छ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताए। निगमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
'निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन् कसरी सेवा दिने त्यसैले तत्कालै जहाज थप्नुपर्छ,' महाप्रबन्धक पौडेल भन्छन्।
महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी कूल आठ थान जहाज थप्नुपर्ने हुन्छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ पनि कम्तीमा ४ थान न्यारो बडी जहाज थप्नुपर्ने आवश्यकता छ। यसै पनि समस्याग्रस्त रहेको निगममा पछिल्लो पटक निगमभित्रका कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पार्यो।
लामो आन्दोलनका कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाहीहरु प्रभावित भएको जनाइएको छ।
निजी एयरलाइन्सको बिजनेस बढ्दो
निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ। दशैं तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ। ठूला एयरलाइन्सको दशैंका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ।
दशैंका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन्। शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि लालाहित छन्।
आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दशैं बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवा दिइरहेका छन्। बुद्ध एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ। दुई साना र १३ एटिआर सहित कूल १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यहरुमा उडान भर्दै आएको छ।
श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ। गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ। आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।