काठमाडौं- चर्चित 'प्यान्डोरा पेपर्स' प्रकरणमा परेका चिलीका राष्ट्रपतिमाथि विपक्षीहरुले महाभियोग प्रस्ताव पेस गरेका छन्।
राष्ट्रपति सेबेस्टियन पिनेराविरुद्ध महाभियोग प्रस्ताव पेस भएको हो। विपक्ष नियन्त्रित चेम्बर अफ डेप्युटीले नोभेम्बर पहिलो हप्ता हुने मतदानमा आरोपको स्वीकार या अस्वीकार गर्नेछ।
इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसीआइजे)ले केही दिनअघि सार्वजनिक गरेको एउटा खोज, प्यान्डोरा पेपर्सले पिनेरालाई विवादमा तानेको थियो। आफ्नो व्यावसायिक मामलासँग सम्बन्धित खुलासापछि राष्ट्रपति पिनेरा विरुद्ध चिलीको अभियोजन कार्यालयले शुक्रबार प्यान्डोरा पेपर्समा आपराधिक जाँच सुरु गर्नेछ।
सन् २०१० मा पिनेरा परिवारद्वारा चिलीको माइनिङ परियोजनाका क्रममा हिस्सेदारीमा बिक्री गरेको विषयमा जाँच केन्द्रित हुने छ। उनीमाथि भ्रष्टाचार र कर सम्बन्धी आरोप लाग्न सक्ने जनाइएको छ।
आइसीआइजेको प्यान्डोरा पेपर्समा परेका उनी विश्वका हाइप्रोफाइल नेतामध्ये एक हुन्। प्यान्डोरा पेपर्सले उनीसँगै संसारभरका नेता र व्यापारीहरुले ट्याक्स हेभन मुलुकमार्फत् गरेको अफशोर कारोबार खुलासा गरेको थियो।
आइसीआइजेले बिहीबार जनाएअनुसार युक्रेनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी एजेन्सीले पनि राष्ट्रपति ब्लोदोमिर जलेन्स्कीविरुद्ध अनुसन्धान सुरु गरेको छ। उनी पनि प्यान्डोरा पेपर्स खुलासामा परेका थिए।
त्यस्तै, ब्राजिल, पेरु र पाराग्वेका थुप्रै राजनीतिक अनुहारहरुले पनि प्यान्डोरा पेपर्स खुलासापछि अनुसन्धान र सोधपुछ झेलिरहेको आइसीआइजेले जनाएको छ।
प्यान्डोरा पेपर्स खुलासा भएलगत्तै भएको निर्वाचनमा चेक रिपब्लिकका अर्बपति राष्ट्रपति आन्द्रेज बबिसको पार्टीले संसदीय निर्वाचनमा पराजय ब्यहोरेको छ। उनी पनि प्यान्डोरा पेपर्स खुलासामा समेटिएको अफशोर कारोबारमा मुछिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।