जनकपुरधाम– दशैंको रौनकता बढेसँगै मिथिलाञ्चल क्षेत्रका विभिन्न शक्तिपीठहरुमा पूजा–आराधना गर्नेको भीड लाग्न थालेको छ।
घटस्थापनाको दिनदेखि नै मिथिलाञ्चलका विभिन्न शक्तिपीठहरुमा पूजा सुरु हुन्छ।

'जगतमाता' सीताको जन्मभूमि मिथिलामा दशैंको बेला भगवतीका विभिन्न स्वरुपको पूजा गर्ने गरिन्छ। मिथिला क्षेत्रमा दशैंका लागि मूर्ति बनाएर नवदूर्गाको पूजा गर्ने गरिन्छ।
मूर्ति निर्माण अघि बेहुलीलाई झैं नवदूर्गालाई 'माइती'मा भित्र्याउने परम्परा रहेको छ।
संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको उपमा दिन्छन्।

जानकी मन्दिरका प्रथम महन्त सुरकिशोर दासले माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्ने गरेको स्थानीयहरुको भनाइ छ।
पछि सुरकिशोर दासका उत्तराधिकारी महन्तहरुले समेत सो परम्परालाई अझै जारी नै राख्दै आएका छन्।
मिथिला साहित्यकार नित्यानन्द मण्डल दशैंको मूर्ति पूजाले नेपालको मिथिला र भारतको बंगालबीच छुट्टै साँस्कृतिक सम्बन्ध गाँसेको बताउँछन्।

बंगालमा मूर्ति पूजालाई एउटा उत्सवको रुपमा मनाउने गरिन्छ। मिथिलाका पण्डितहरु बंगाल जाने र बंगालका व्यक्तिहरु विद्या अध्ययनको लागि मिथिला आउने गरेकोबाट पनि मिथिलामा मूर्ति पूजाको महत्व अझ बढेको उनी बताउँछन्।
बंगाल र मिथिलाबीच वर्षौं पहिले स्थापित सम्बन्धले मिथिलामा माटोको प्रतिमा बनाएर पूजा गर्ने पम्परा विकास भएको हुनसक्ने मण्डलको भनाइ छ। तर, 'आधुनिकता'को असर मूर्ति पूजामा पनि पर्दै गएको मण्डल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।