सन् १९५७ सेप्टेम्बर महिनामा हामी बेलायत प्रस्थान गरेका थियौँ। त्यस बेला हामीले प्रसिद्ध ज्योतिषी सुधि बाबुले भनेका कुरा पनि सम्झियाौँ। सुधि बाबु त साँचिच्कै जान्ने ज्योतिषी हुनुहुँदो रहेछ। छोरा पनि उन्नाईस वर्षमा पाउने भन्नु भएको थियो। नभन्दै उन्नाईस वर्षमै किरण जन्मिएको थियो। बेलायत जाने भन्ने कुरा पनि अहिले मिल्न गयो। यस्तै अरू कुरा पनि भनेका मिलेका छन्। यो कुरा सम्झँदा त यो एउटा ज्योतिषीले होइन, भगवानले नै बोलेको हो जस्तो लाग्यो।
बेलायत जानका लागि जहाजको टिकट पनि आयो। तर, त्यो पटनासम्मको मात्र थियो। त्यसबेला नेपालबाट बम्बई जानका लागि विमानको व्यवस्था थिएन। पटनाबाट रेल यात्रामा बम्बई पुग्ने र पानीजहाज चढेर बेलायत जाने हाम्रो कार्यक्रम थियो। सोहीअनुसार काठमाडौँबाट हवाइजहाजमा पटना पुग्यौं। पटनाबाट रेल चढेर बम्बई पुग्यौँ। बम्बईमा हाम्रा लागि होटलको पनि व्यवस्था गरिएको थियो। मरिन ड्राइभकै ठ्याक्कै अगाडिको होटल थियो हाम्रो। त्यहाँको बसाइ दुई रातको थियो। हाम्रो कोठाको झ्यालबाट समुन्द्र देखिन्थ्यो। समुन्द्र देख्दा त हामी निकै दङ्ग पर्यौँ। साह्रै मला लाग्यो। दुलाहादुलही दुई दिन त्यहाँ रमाइलोसित बस्यौं।
बम्बईमा मेरी आमाकी सानीमाकी छोरी होइसिन्थ्यो। उहाँको नाम हेमप्रिया पाण्डे हो। उहाँलाई हामी मुमा भन्थ्यौँ। नाताले जे भए पनि उमेरका हिसाबले साथी जस्ता थियौँ। हामी केटाकेटीमा सँगै सुत्ने, सँगै खाने तथा सँगै खेल्ने गर्थ्यौं। उहाँ २०७१ सालसम्म पनि त्यहीँ नै होइसिन्थ्यो। एक वर्षअगाडि उहाँको दुखद निधन भयो। हामी उहाँलाई भेट्न गयौँ। ब्रिटिस काउन्सिलले, ‘ब्रिटेनमा सबै महङ्गो हुन्छ, त्यसकारण तिमीले लगाउने लुगाहरूलगायत आफूलाई चाहिने कुराहरू ल्याऊ’ भनेको थियो। म त पाइन्ट नलाउने, साडी लाउने गर्थेँ। अनि मुमासित सँगसँगै गएर त्यहाँ विभिन्न किसिमका साडीहरू किन्यौँ।
बम्बइबाट स्ट्रयाथ्न्याभर भन्ने पानीजहाजमा हामीहरू चढ्यौँ। त्यस जहाजमा हामीसहित चार जना नेपाली थियौँ। उहाँहरूसँग पछाडि मात्र भेट भयो। एक जना सूर्यबहादुर शाक्य हुनुहुन्थ्यो। उहाँ युनिभर्सिटीको प्रोफसर हुनुहुन्थ्यो। अर्का एक जनाको नाम चाहिँ अहिले मैले बिर्सिएँ। हामी सबैको आफ्नो छुट्टाछुट्टै बस्ने क्याबिन थियो। मेरो दुलाहाको र मेरो क्याबिन एउटै थियो। क्याबिनका नजिकै प्यान्ट्री थियो। त्यसमा क्याबिन ब्वायले चिया आदि सबै कुरा तयार गरी ल्याएर दिन्थे। तर, हामीहरूले आफै पकाउन भने पाउँदैनथ्यौँ।
आमाहरूले हामीलाई खानको लागि विभिन्न किसिमका खानेकुराहरु हालिदिबक्सेको थियो, जसमा फुरनदाना, छोपको अचार आदि थिए। भाँडाहरू पनि राखिदिबक्सेको थियो। मैले युरोपियन खानाहरू यस अगाडि खाएकै थिइनँ। त्यस्तो खाने मौका परेकै थिएन। त्यहाँको खाने हलमा जाँदा त मलाई के केको हस्को आएको जस्तो भयो। माछामासुको गन्ध आयो। हाम्रो यो यात्रा नै समुन्द्रको थियो, त्यसैले त्यहाँ माछा नपाक्ने कुरै भएन। माछाको गन्धले मलाई अलिकति अप्ठ्यारो जस्तो भयो। हाम्रा लागि खानेकुरा त पाउरोटीजस्ता कुरा मात्र भए। शाकाहारी परिकार त निकै कम थिए त्यहाँ। त्यसैले खानेकुरामा हामीलाई निकै अप्ठ्यारो परेको थियो।
हाम्रो पानीजहाज बीचबीचमा विभिन्न बन्दरगाहमा रोकिने गर्थ्यो। मध्यपूर्वको एडेनपछि चार घन्टाका लागि फ्रान्सको मार्सेमा जहाज रोकिएको थियो। त्यस समयको सदुपयोग गरेर हामी डुल्न गयौँ। युरोपियन मुलुकमा हामीले पहिलो पटक टेकेका थियौँ। त्यसैले हामी घुम्न थाल्यौँ। हामी आइपुग्नुपर्ने समय र स्थान तोकिएको थियो। बजारमा घुम्दै जाँदा हामीले हरिया तरकारी देख्यौँ। अनि त हाम्रो मन नै थामिएन। घुम्न निस्किएका हामीले गोलभेडा, आलु, साग, लसुन, प्याज आदि किनेर ल्यायौँ। जहाजका सीमित खानेकुराले हाम्रो चित्त पटक्कै बुझेको थिएन। आज स्वाद फेर्ने भनेर त्यो रात भात पकाएर खाने निश्चय गर्यौँ। काउली अलिकति मिसाएर तितौरा र भात पकाएर खाने रहर भयो।
मेरा श्रीमानको सामाजिक सम्बन्ध एकदम राम्रो थियो। उहाँले सबैलाई निकै माया गरिसिन्थ्यो र फकाइसिन्थ्यो। यसैमा मैले पनि अलिकति थपथाप गरेर मिलाउन सक्थें। यही खुबी प्रयोग गरेर निकै अनुरोध गरेकाले प्यान्टीब्वायले खाना पकाउन दियो। अब हामी मात्र कसरी खाने भन्ने लाग्यो र ती दुई जना नेपालीहरूलाई पनि त्यहीँ बोलायौँ। हामी चार जनाले हाम्रो क्याबिनमा बसेर खुब मीठो गरेर खायौँ। कति रमाइलो भएको थियो जहाजमा लुकेर खाँदा। खुब मजा आयो, बल्ल खाना खाएको जस्तो भयो। यो कुरा हामीहरू भेट हुँदा पछिसम्म पनि सम्झने गर्थ्यौं।
हामी सत्र दिनका दिन लन्डन पुग्यौँ। टिलबरी पोर्टमा उत्रिई रेल चढेर लन्डन सहर गयौं। त्यहाँ पुग्नुभन्दा अगाडि हाम्रो मनमा ‘लन्डनका मान्छे कस्ता हुन्छन् होला! त्यहाँ नेपालीहरू कसरी बसेका होलान्!’ आदि कुरा खेल्थे। हामी छात्रवृत्ति पाएर त्यहाँ पढ्न गएका थियौं। ब्रिटिस काउन्सिलबाट कोही आउला भन्ने लागेको थियो। हामी त्यहाँ पुग्दा ठूलो आश्चर्यको कुरा भयो। डा मृगेन्द्रराज पाण्डे पो हामीलाई कुरेर त्यहाँ बस्नुभएको रहेछ। डा मृगेन्द्रराज पाण्डे र डा अञ्जनीकुमार शर्मा हामीभन्दा ६ महिना अगाडि उच्च अध्ययनका लागि लन्डन जानुभएको थियो। उहाँहरु पनि छात्रवृत्तिमा जानुभएको थियो। काठमाडौंमा मृगेन्द्रराजको घर र मेरो माइती वल्लोपल्लो घर थियो। पहिलेबाट नै उहाँसित राम्रो चिनजान थियो। बिरानो ठाउँमा चिनजानको मान्छे भेट्दा स्वर्ग पुगेजस्तो अनुभव भयो, कस्तो आत्मीयता भयो। फेरि मेरा श्रीमान् र मृगेन्द्रराजजी त त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दादेखिकै साथी थिए।
त्यहाँ पुगेपछि अर्को रमाइलो कुरा भयो। डा. मगेन्द्रराज पाण्डेले हामीलाई सोध्नुभयो, ‘तपाइँहरूले शुभ समाचार सुन्नुभयो?’
‘के समाचार? कस्तो खबर?’ हामीले केही थाहा नपाएको कुरा गर्यौँ। थाहा पाउने कुरा पनि त भएन, सञ्चारको सुविधा खासै नभएको अवस्थामा समुन्द्रको जलयात्रामा थियौँ ।
‘बलरामजी, बधाई! तपाइँले त मदन पुरस्कार पाउनुभएछ नि!’ भन्नुभयो। हामी त छक्कै पर्यौँ। हामीलाई त्यो कुरा थाहै थिएन। अहिलेको जस्तो फोनको सजिलो थिएन। घरबाट हिँडेपछि सम्पर्क हुने कुरै भएन। हामी हिँडेपछि घोषणा भएको रहेछ। उहाँले पाएको त्यो पुरस्कार विज्ञानतर्फको पहिलो मदन पुरस्कार थियो। उहाँले वनारस पढ्दाखेरि नै ह्यान्डीक्राफ्ट जेनेरेटर बनाइबक्सेको थियो। पुरस्कारमा दसहजार रूपैयाँ पनि थियो। उहाँको त्यो पुरस्कार सासूज्यू गएर लिइबक्सेको रहेछ।
अनि मृगेन्द्रराजजीले निकै माया गर्नुभयो हामीलाई र भन्नुभयो, ‘ल अब जाऔं।’
मैले प्रश्न गरें, ‘कहाँ जाने?’
उहाँले भन्नुभो, ‘अब कहाँ जाने, पहिला होटलमा जाने झोलासामान राख्ने, अनि खाना खान जाने ।’
‘खाना खान कहाँ जाने? यहाँ हिन्दूस्तानी खाना खान पाइन्छ?’, मैले हिन्दूस्तानी खानामा रुची देखाएँ।
‘ल हिंड्नुस् न त जाऔं।’ भनी हामी दुई झोला बोकेर हिँड्यौँ। होटलमा झोला, सुटकेस थन्क्यायौँ। इन्डियन रेस्टुरेन्टमा लैजानुभयो डा मृगेन्द्रराजजीले। धेरै दिनदेखि नेपाली तथा इन्डियन खाना खान निकै मन लागेकको थियो। त्यसै भएर हो कि त्यो खाना निकै मीठो लाग्यो। खुब मजाले खायौँ हामीले। हामीले पैसा तिर्न खोज्दा मृगेन्द्रराजजीले मान्नुभएन। उहाँले नै तिर्नुभयो र भन्नुभयो, ‘पछिपछि तपाइँले खुवाएको खाउँला नि, अहिले चाहिँ मैले नै खुवाउँछु।’
त्यो खानाले हामीलाई निकै सन्तुष्टि दियो। जहाजका अरू खालका खाना खाँदा खाँदा वाक्क भएका थियौँ। मृगेन्द्रराजजी लन्डनमै बस्नुहुन्थ्यो। त्यसपछि उहाँ आफ्नो बासस्थानमा जानुभयो, हामीहरू होटलमा आफैँ आयौँ।
०००
मेरा श्रीमानले बेलायतमा पनि ह्यान्डिक्राफ्ट जेनरेटर बनाएर पुरस्कार पाइबक्सेको थियो। उहाँको पनि पीएचडी सकियो। त्यहाँका प्रोफेसरहरुले हामीलाई भनेका थिए, ‘तिमीहरू यहीँ बस, हामी तिमीहरूलाई यहीँ जागिर दिन्छौं, तिमीहरू नजाओ।’ मेरा श्रीमानलाई पनि उहीं राख्न उनीहरूले प्रयास गरेका थिए। तर, हामी त्यहाँ बसेनौं।
यसका दुईवटा कारण छन्। एउटा त हामीलाई आफ्नो देशको मायाले तानेको थियो र नेपाल आमाकै सेवा गर्ने मन थियो। अर्को कुरा हाम्रो परिवार नेपालमा नै थियो। हुन त परिवारलाई उतै लैजान पनि सकिन्थ्यो होला, तर हामीलाई आफ्नो देश छाड्न मन लागेन। हामीले नेपाल नै फर्कने निर्णय गर्यौँ।
०००
कहिलेकाहीँ लन्डनमा डा मृगेन्द्रराज पाण्डेकहाँ पनि हामी जान्थ्यौँ। उहाँ आफैँ खाना पकाएर हामीलाई खुवाउनुहुन्थ्यो। खाना पकाउन लाग्दा ‘म पकाउँछु’ भनेर अगाडि सर्थेँ, तर उहाँले मलाई दिनुहुँदैनथ्यो र भन्नुहुन्थ्यो, ‘तपाइँ चुप लागेर बस्नुहोस् न, म पकाउँछु।’ उहाँ निकै मीठो पकाउनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ मकहाँ आउँदा म उहाँलाई खाना पकाएर खुवाउथेँ। निकै रमाइलो हुन्थ्यो।
दशैँमा हामीहरु दूतावासमा जान्थ्यौँ। त्यस दिन बेलायतभरिका नेपालीहरुलाई दूतावासमा निम्ता हुन्थ्यो। खुब रमाइलो लाग्थ्यो। त्यहाँ नेपाली खाना खान पाइन्थ्यो। भोज राम्रो हुन्थ्यो। नेपाली भेट्न पाइन्थ्यो। मेरा श्रीमान् र मैले त रक्सी खाँदैनथ्यौँ। बियर पनि हामी लिदैनथ्यौँ। एकपटक सबै मिलेर ‘मिसेस जोशीलाई रक्सी खुवाउनुपर्यो’ भनेर योजना बनाएछन्। सबै पाहुनाहरु गइसकेका थिए र हामी मात्र थियौँ। त्यसबेला एउटा बोतलमा रक्सी ल्याए र मलाई खुवाउनका लागि निकै प्रयास गरे तर, मैले मरे पनि रक्सी खाइँन।
(यो पुस्तकांश स्व. अंगूरबाबा जोशीको आत्मकथा अक्षर साधना र गोधूलीबाट लिइएको हो। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।