काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले जानकारी दिए।
सर्वोच्च अदालत जलाएको अभियोगमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ ।
श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्याएको अभियोग पत्रमा उल्लेख छ ।
त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ ।
सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो । सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।