अमेरिका– इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा रेजा पहलवीले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको दाबीसहितको खबरपछि प्रतिक्रिया दिएका छन् ।
उनले अब राष्ट्रिय उत्सवको सुरुवात भएको बताउँदै खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र जहाकको संज्ञा दिए ।
उनले खामेनीलाई दशौँ हजार इरानी युवायुवतीका हत्याराको रूपमा चित्रण गर्दै उनी अब इतिहासको पानाबाट मेटिएको दाबी गरे। पहलवीले एक्समा लेखेका छन्, 'खामेनीको अन्त्यसँगै इस्लामिक गणतन्त्रको पनि व्यवहारिक रूपमा अन्त्य भएको छ र यो छिट्टै इतिहासको रद्दीटोकरीमा मिल्नेछ।'
पूर्व युवराज पहलवीले इरानी अधिकारीहरूलाई नयाँ उत्तराधिकारी नियुक्त नगर्न चेतावनी समेत दिएका छन्। उनले इरानी सेना, सुरक्षा निकाय र प्रहरी बलका लागि जनताको पक्षमा उभिने यो अन्तिम मौका भएको बताए।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्ना बुबा र परिवारसँगै निर्वासनमा गएका पहलवी लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन्। अमेरिका र इजरायलले खामेनीको मृत्यु भएको दाबी गरेपनि इरानले स्वीकार गरेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।