काठमाडौं- उत्तर कोरियाली शासक किम जोन उनले अमेरिकाको प्रतिकुल नीतिका बावजुद आफ्नो देशको सेनालाई शक्तिशाली र पराजय नब्यहोर्ने बनाउने घोषणा गरेका छन्।
उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजित सेल्फ डिफेन्स २०२१ को प्रदर्शनीका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै किमले उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियासँग युद्ध नचाहेको बताए।
"हामी कसैसँगै युद्धको कुरा गरिरहेका छैनौं। वास्तवमा युद्ध रोक्नका लागि हामी यस्तो गरिरहेका छौं। देशको संप्रभुताको रक्षाका लागि हामी यस्तो गरिरहेका छौं।"
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरुका अनुसार किमले देशमा विकसित गरिएको हतियार आत्मरक्षाका लागि भएको भन्दै युद्ध सुरु गर्नका लागि हतियार आफूहरुले विकसित नगरेको बताए।
उनले एक दुर्लभ रक्षा प्रदर्शनीको अवलोकन गरे जहाँ फरक फरक प्रकारका मिसाइलबाट उनी घेरिएको देखिएको बीबीसीले जनाएको छ। यस प्रदर्शनीमा कयौं सैन्य उपकरण र हतियार तथा ट्यांक र मिसाइल प्रदर्शन गरिएको छ।
उत्तर कोरियाले हालसालै एक हाइपरसोनिक र एक एन्टी-एयरक्राफ्ट मिसाइलको परीक्षण गरेको थियो।
किमले उत्तर र दक्षिण कोरियाको बीचमा तनावका लागि अमेरिका जिम्मेवार रहेको दाबी गरे। उनले अमेरिकानै कोरियाली प्रयाद्वीपमा 'अस्थिरताको जड' भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।