काठमाडौं- भारतको जम्मू–कश्मिरमा आतंककारीसँग भएको मुठभेडमा भारतीय सेनाका पाँच जनाको मृत्यु भएको छ।
जम्मू–कश्मिरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतंकवाद विरोधी अभियानका क्रममा आतंककारीको हमलामा परेर सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाले ज्यान गुमाएका हुन्।
जम्मू सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार पुन्छा सेक्टरमा सोमबार बिहानदेखिको सर्च अभियानको क्रममा मुठभेड हुँदा एक जेसीओसहित पाँच भारतीय सेना र कट्टरपन्थी मारिएका छन्। यो अपरेशन अझै जारी छ।’
उक्त क्षेत्रमा आतंकवादी रहेको सूचना पाएपछि सर्च अभियानमा गएको सेनाको टोलीमाथि हमला भएको थियो।
‘मुठभेडको क्रममा गम्भीर घाइते भएका सैनिकहरुलाई नजिकैको अस्पतालमा लगिएको थियो तर उनीहरुको त्यहाँ मृत्यु भयो,’ उनले भने।
सेनाका प्रवक्ता आनन्दका अनुसार मारिएका जेसीओ सुभेदार जसविन्दर सिंहको रुपमा रहेका छन्। सिंह पञ्जावको कपूरथला जिल्लाका हुन्।
उनीसँगै मारिएका अन्य दुई जवान पनि पञ्जावका निवासी हुन्। उनका अनुसार मनदीप सिंह गुरदासपुर र सिपाही गजन सिंह रोपारका हुन्।
मारिएका सैनिकहरुमा उत्तर प्रदेशको शाहजहाँपुरका सिपाही सराज सिंह र केरलाको कोल्लम जिल्लाका सिपाही वैशाख एच रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।