प्रतिकात्मक तस्वीर
काठमाडौं– ओखलढुङ्गामा एक महिलाले 'आत्मदाह' गरेकी छन्। प्रहरीका अनुसार जिल्लाको लिखु गाउँपालिका–३ की ३८ वर्षीया उर्मिला सुनार जोगीले शरीरमा आगो लगाएर आत्मदाह (आत्महत्या) गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार उर्मिलाले आइतबार आफ्नो शरीरमा आगो लगाएकी थिइन्। शरीरमा मट्टितेल छर्केर आगो लगाएको देखेपछि उनको परिवारका सदस्य निभाएका थिए।
आगोले जलेको ठाउँमा घरेलु विधिबाट उपचार गरिएकोमा सोमबार उनको मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए।
'शरीरमा आगो लगाएको देखेर उनका श्रीमान् र परिवारका सदस्यले आगो निभाएर घरेलु विधिबाट उपचार गरेका रहेछन्। घरेलु उपचारले जलेको घाउ निको हुने अवस्था भएन, उनको आज मृत्यु भएको रहेछ,' डीएसपी काफ्लेले नेपाल लाइभसँग भने।
डीएसपी काफ्लेका अनुसार उर्मिलाको मृत्यु भएपछि मात्रै स्थानीयले सोमबार प्रहरीलाई खबर गरेका थिए। घटनाको खबर पाएपछि नजिकको प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको डीएसपी काफ्लेले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अर्को टोली घटनास्थल पठाउन लागिएको काफ्लेले बताए।
'मृतक महिला पहिला पनि एउटा दुर्घटनामा परेको भन्ने कुरा आएको छ। आर्थिक अवस्था पनि कमजोर, मानसिक रुपमा पनि विक्षिप्त भएकाले आत्मदाह गरेको भन्ने बुझिएको छ,' काफ्लेले भने, 'अहिले पनि अनुसन्धान जारी छ। जिल्लाबाट इन्सपेक्टरको टोली गएर अनुसन्धान गरेपछि थप कारण प्रष्ट हुनेछ।'
डीएसपी काफ्लेका अनुसार मृतक उर्मिलाको शव अहिले घरमै राखिएको छ। जिल्ला प्रहरी कार्यालयको टोली मंगलबार मात्रै पुग्ने भएकाले कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षणको लागि अस्पताल ल्याइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।