काठमाडौं- भारतको केन्द्रीय सरकारका गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन्। उत्तर प्रदेशको लखिमपुर खिरीका ८ जना किसानलाई गाडीले किचेर हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।
१७ असोजमा भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा विरोध प्रदर्शन गरिरहेका किसानमाथि आशिषले गाडी कुदाएका थिए।सो प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका किसानमाथि उनले गाडि कुदाउँदा ८ जनाको मृत्यु भएको आरोप लागेको छ।
भारतीय प्रहरीका अनुसार आशिषमाथिको आरोपका सम्बन्धमा शनिबार उनीसँग १२ घण्टा बयान लिइएको छ। डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको दाबी गरेका छन्।
आफूले सोधेको प्रश्नको उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको उनले बताए।
किसानको हत्यापछि भड्किएको हिंसामा परी दुई जना भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता, एकजना आशिषको गाडी चालक र एकजना स्थानीय पत्रकार पनि मारिएका थिए। किसानले आशिष चढ्ने गाडी पनि जलाइदिएका थिए।
गृहराज्यमन्त्री मिश्रले भने घटनामा आफ्नो छोराको संलग्नता नरहेको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।