काठमाडौं- पाकिस्तानको परमाणु हतियार कार्यक्रमका पिताका रुपमा चिनिने अब्दुल कादिर खानको निधन भएको छ। ८५ वर्षीय खानको आइतबार बिहान पाकिस्तानको राजधानी इस्लामाबादमा निधन भएको हो।
खानको आइतबार इस्लामाबादको फैसल मस्जिदमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको सीएनएनले जनाएको छ। खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८ मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो। पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुकसमेत हो।
पाकिस्तानलाई परमाणु सशस्त्र राज्य बनाउन सहयोग गरेकोमा खानलाई राष्ट्रिय 'नायक'को रूपमा सम्मानित गरिएको थियो। तर, पश्चिम देशहरुले भने उनलाई 'खलनायक'को रूपमा हेर्दै आएका थिए।
खानले उत्तर कोरिया, लिबिया र इरानजस्ता राष्ट्रहरुलाई परमाणु टेक्नोलोजी बेच्नेको भन्दै संयुक्त राज्य अमेरिकाले उनीमाथि निगरानी राख्नुपर्ने माग गरेको थियो। सन् २००४ मा अमेरिकाको आग्रहमा पाकिस्तानी अधिकारीहरुले उनलाई घरमै नजरबन्दमा राखेका थिए।
उनले सन् २००४ मा राजधानी इस्लामाबादमा एक सरकारी टेलिभिजनलाई अन्तर्वाता दिँदै तीन देशहरूमा हतियार प्रसार सञ्जाल चलाएको स्वीकार गरेका थिए। त्यसपछपि उनलाई माफीसमेत मगाइएको थियो।
पाकिस्तानी अदालतले उनलाई सन् २००९ मा नजरबन्दबाट रिहा गर्न आदेश दिएको थियो। पाकिस्तानी प्रधानमन्त्री इमारन खानले उनको निधनप्रति दुःखद व्यक्त गरेका छन्। ‘पाकिस्तानलाई परमाणु हतियार सम्पन्न बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण पाकिस्तानी जनताले धेरै माया गर्थे,’ उनले ट्वीट गर्दै भनेका छन्।
सन् २००६ मा प्रोस्टेट क्यान्सर उपचारको क्रममा शल्यक्रिया गरिएको थियो। पछिल्लो समय उनी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।