काठमाडौं- महामारी समाप्त भएको घोषणा गरिएको पाँच महिनापछि कंगोमा इबोला देखिएको छ।
पूर्वी सहर बेनी नजिकै एक तीन वर्षीय बालकमा गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको कंगोको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
२०१८ देखि २०२० सम्म कंगोमा इबोलाले महामारीको रुप लिएको थियो। तर, पछिल्लो पाँच महिनामा उक्त महामारी नियन्त्रण आइसकेको सरकारले घोषणा गरेको थियो।
यद्यपि, कंगोका स्वास्थ्यमन्त्री जीन ज्याक म्बुनगानीले पुन: इबोला देखिन थालेको जानकारी दिएका छन्। उनका अनुसार ती बालकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई निगरानीमा राखिएको छ।
‘करिब १०० जना मानिस उनको सम्पर्कमा आएका हुन सक्छन्। ती सबैको व्यक्तिहरुको पहिचान भैसकेको छ र उनीहरुमा कुनै लक्षण देखिएको छ कि छैन भनेर निगरानी गरिनेछ,’ मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
यता, कंगोको बायोमेडिकल प्रयोगशालाले प्रकाशित गरेको एक आन्तरिक रिपोर्टमा बेनीको ठूलो बस्ती भएको बुटसिलीमा गत महिना इबोलासँग मिल्दोजुल्दो लक्षणहरु भएका तीन व्यक्तिको मृत्यु भएको थियो। तर, कसैको पनि परीक्षण नभएको जनाएको छ।
यता, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एक विज्ञप्ति जारी गर्दै कंगोका स्वास्थ्य अधिकारीहरुसँग समन्वय गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।