काठमाडौं- तालिवानसँग हुने उच्चस्तरीय वार्ताको उद्देश्य उनीहरुको सरकारलाई मान्यता दिनु नरहेको अमेरिकाले जनाएको छ।
तालिवानले १५ अगस्टमा अफगानिस्तान नियन्त्रण लिएको थियो। कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच शनिबारदेखि पहिलो पटक वार्ता हुँदैछ।
अमेरिकी विदेश विभागले अमेरिका तालिवानसँग सम्पर्कमा रहेको बताए। यी वार्ताहरु त्यही सम्बन्धमा भइरहेको उसको भनाइ छ।
‘धेरै मुद्दाहरुसँगै अफगानिस्तानमा रहेका अमेरिकी नागरिक र देश छोड्न खोज्ने अन्य अफगान नागरिकलाई सुरक्षित बाटो दिने मुद्दामा पनि तालिवानसँग छलफल गरिनेछ,’ विभागले भनेको छ।
अमेरिकी नेतृत्वको सेनाले छाडेपछि अफगानिस्तानलाई अन्तर्राष्ट्रिय सहयोग केही हदसम्म सीमित गरिएको छ। अफगानिस्तान एक गम्भीर आर्थिक र मानवीय संकटको सामना गरिरहेको छ।
वासिङ्टन बीबीसी संवाददाता नोमिया इकबालका अनुसार अमेरिकी अधिकारीहरुले अफगानिस्तानमा तालिवानको शासन स्वीकार गरेको छैन।
अमेरिकी सेनाको प्रस्थानपछि १ लाख २४ हजारभन्दा बढी मानिसलाई अफगानिस्तानबाट सुरक्षित उद्दार गरिएको छ। तर, अझै हजारौं मानिस छन्, जो अफगानिस्तान छोड्न चाहन्छन्।
वार्ता अघि अमेरिकाले तालिवानलाई समावेशी सरकार बनाउन, महिला र अल्पसंख्यकलाई सरकारमा समावेश गर्न दबाब दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।