काठमाडौं– लगानी बोर्डले दोलखाको जुम खोला जलविद्युत आयोजना र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।
बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिब १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजिवृद्धि स्वीकृत गरेको बताए।
उनले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको पनि बताए।
बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।
लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधीन छ।
बैठकमा मन्त्रालय र लगानीबोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवर्द्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपतको योजनासहित अघि बढाउनु पर्ने विषयमा छलफल भएको सहप्रवक्ता अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।