काठमाडौं– दशैंलाई लक्षित गर्दै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार (असोज २२)देखि खसीबोकाको विक्री वितरण सुरु गर्ने भएको छ।
कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ। गत वर्ष १ हजारवटा खसीबोका र १ हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत सर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्ट (असोज २२गते) देखि राजधानीमा खसीबोका बिक्री सुरु गरिने जानकारी दिइन्। कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौंडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन्।
कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ कममा खसीबोकाको बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिइन्।
कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ। दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।
चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ। कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री गर्दै गरिरहेको छ।
बितरण गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।