काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डबीच भेटवार्ता भएको छ। सोमबार महासंघको सचिवालय टेकुमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटका अवसरमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भएको महासंघले जानकारी दिएको छ। उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने विषयमा छलफल भएको थियो।
छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेसन लगायतका सुविधा प्रदान गर्न आईएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे। साथै, महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिबद्ध रहेको उनले बताए।
सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड युनियनसँग छलफल गर्न तयार रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।