काठमाडौं- प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबीच उच्चस्तरीय छलफल भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटबाट निरन्तरता दिइएका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।
बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशीघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आ-आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन गर्ने कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिए। बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाइ नहुने प्रतिबद्धता उनले व्यक्त गरे।
मन्त्री शर्माले अर्थ मन्त्रालयमा आएका कार्यविधि निर्माणसम्बन्धी पुराना फाइलहरु सात दिनभित्र र अब प्राप्त हुने नयाँ फाइलहरु तीन दिनभित्र टुंगो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सबै मन्त्रालयहरुले कडा मिहेनत गर्नुपर्ने बताए।
अर्थसचिव मधुकुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।