काठमाडौं- कर फर्स्योट आयोगमा रहेर भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख रूपैयाँ धरौटी मागेको छ। सोमबार अदालतमा हाजिर भएका उनलाई थुनछेक बहसपछि ५० लाख रुपैयाा धराैटी मागेको हो।
उनी अदालतले मागेको धराैटी बुझाएर रिहा हुने तयारीमा छन्। धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन्। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो। आयोगले समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो।
महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। उनीहरु अदालतको आदेशबमोजिम जनही ५०/५० लाख रुपैयाँ धरौटी बझाएर आइतबार नै रिहा भएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।