विराटनगर- उद्योग संगठन मोरङले सुनसरी-मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन सुरु गरेको छ। संगठनले आजबाट तथ्यांक संकलन कार्य सुरु गरेको जनाएको छ।
तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्यांक संकलन गरी डेटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी-मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण-२०७८ सुरु गरिएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए। एक पटक यस्तो डेटाबेस तयार भएपछि नियमितरुपमा अद्यावधिक गरिने योजना रहेको उनले बताए।
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्यांक संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए। उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर पाँच जना गणकहरु तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठानहरुमा पुग्ने छन्।
संगठनले तथ्यांकको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकहरुका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो। महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोबाइल एपबाट तथ्यांक संकलन गर्ने छन्। त्यसरी संकलन गरिएको तथ्यांकको गुणस्तरीयता अनलाइनबाटै अनुगमन गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।