काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल नबढाएको बताएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी भइरहेको विरोधको खण्डन गरेका हुन्।
‘सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत् फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको छ,’ अर्थमन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन।’
वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न उनले सरोकारवाला सबैमा अनुरोध गरेको छ। ‘बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर पाँच प्रतिशत मात्र कायम गरिएको छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो,’ अर्थमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी-जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोजेको अर्थमन्त्रीले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।