काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोनस दिँदा नगद लाभांश वितरणमा कडाइ गरेको छ। साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले नगद वितरणमा कडाइ गरेको हो।
यसअघि केन्द्रीय बैंकले गतवर्ष कार्यविधि जारी गर्दै कोभिड महामारीको जोखिमबाट बैंकहरुलाई जोगाउनका लागि नगद लाभांशमा कडाइ गरेको थियो। उक्त व्यवस्थालाई चालु वर्षका लागि समेत निरन्तरता दिएको हो।
कार्यविधिले ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ। राष्ट्र बैंकले गत वर्ष नै कार्यविधि जारी कार्यविधिमा आर्थिक वर्ष २०७७/७८ को लागि बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था छ।
यसैगरी तोकेबमोजिम मासिक औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने प्रावधान छ।
कार्यविधिले २०७८ भदौ १५ गतेभित्र प्राप्त हुने व्याजबाट समेत लाभांश वितण गर्ने सहुलियत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।