जनमत भएर पनि कांग्रेस कमजोर अवस्थामा छ। संगठन र शक्ति क्षयीकृत भएको छ। कांग्रेसको संगठन कमजोर हुनुमा केही कारण छन्।
कांग्रेसमा संस्थागत समूहवाद छ। व्यक्तिले समूह खडा गर्ने र हैकम चलाउने व्यक्तिवादी प्रवृत्ति छ। संस्थागत रुपमा समूहवादको विकास भइरहेको छ। यी दुवै चरित्रले कांग्रेसलाई माथिदेखि तलसम्म गाँजेको छ।
कांग्रेसको वडा अधिवेशन अहिले भइरहेको छ। वडा अधिवेशनलाई मात्रै हेर्यौं भने ७०/७५ प्रतिशत स्थानमा निर्विरोध नेतृत्व चयन भएको छ। तर, कतिपय स्थानमा निकृष्ट तरिकाले नेतृत्व चयन गरिएका छन्। गुट खडा गरिएको छ। गुट पनि ३/४ वटा खडा गरेर प्रतिस्पर्धा भएका छन्।
नेतृत्व चयनका लागि सिण्डिकेट बनाइएको छ। त्यो सिण्डिकेटले अरुलाई छिर्नै नदिने गरेको छ। केही स्थानमा पसेको यो प्रवृत्ति अन्य ठाउँमा पनि पस्न सक्छ। पार्टीको शक्ति क्षयीकरणको प्रमुख कारण गुटवाद हो।
गुट वा समूहवादलाई अन्त्य गर्ने नेतृत्व कांग्रेसलाई चाहिएको छ। कतिपयले सामूहिक नेतृत्वले गुटलाई अन्त्य गर्ने विचार राख्छन्। सामूहिक नेतृत्वमा बस्नेहरुले नै आफ्नो गुट खडा गरे भने गुटवाद कसरी अन्त्य हुन्छ? सामूहिक नेतृत्वमा पनि गुटवाद हाबी हुनु कांग्रेसको महारोग हो।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन वर्ष बसेर कांग्रेसलाई नजिकबाट नियाल्ने थप अवसर पाएँ। एकाधलाई छोडेर कांग्रेसमा अध्ययन संस्कृतिको अन्त्य भएको छ। कांग्रेसमा क्रियाशील सदस्यतामार्फत नौ लाख क्रियाशील सदस्य आवद्ध भएका छन्।
९५ प्रतिशत क्रियाशील सदस्यलाई न कांग्रेसको इतिहास थाहा छ, न पार्टीको दर्शन। न कांग्रेसको योगदान थाहा छ, न कांग्रेसलाई यो स्थानसम्म ल्याइपुर्याउने व्यक्तित्व तथा सहिदहरुबारे जानकारी। धेरैलाई त कांग्रेसको विधानबारे पनि जानकारी छैन। उद्धण्डतापूर्वक नेतृत्वमा आउने अवस्था सिर्जना भएको छ। पार्टीको आदर्श तथा सिद्धान्तको विषयमा ज्ञान नराख्ने कार्यकर्ताले कांग्रेसलाई कमजोर बनाउँछ।
पार्टीको आदर्श, संस्कार, सिद्धान्त, सहिदका विषयमा कार्यकर्तालाई बुझाउने नेतृत्व चाहिन्छ। कार्यकर्ताको प्रशिक्षण नहुँदा विचित्रका कार्यकर्ता मात्रै तयार हुने अवस्था छ। पार्टीमा आवद्ध हुनु राम्रो हो। तर, आवद्ध भइसकेपछि प्रशिक्षित गर्नैपर्छ। आफ्ना कार्यकर्ता प्रशिक्षत गर्ने काम नेतृत्वकै हो।
अर्को महत्वपूर्ण विषय, संगठनमा अनुशासन शून्य छ। नेतृत्व लिनेसँग अहंकार र विवेकशून्यता छ। सबै विवेकशून्य छैनन्, तर मुख्य जिम्मेवारीमा पुगेकाहरुमा अहंकार छ। पार्टीका सबै संरचनामा यो अवस्था छ। नेतृत्वमा पुग्नु र विश्वसनीय तथा इमान्दारिता कायम राख्नु फरक कुरा हुन्। १४औं महाधिवेशनबाट कांग्रेसको मूल नेतृत्वमा विश्वसनीयता र इमान्दारिता खोजिएकोे छ।
कांग्रेसका लागि सुखद पक्ष नयाँ पुस्ता बेजोड तरिकाले आउनु हो। ३५ देखि ४० प्रतिशतसम्म नयाँ पुस्ताको प्रवेश भएको छ। १८ देखि ९५ वर्षसम्मको व्यक्ति कांग्रेसको क्रियाशील सदस्य छन्। त्यसैले अब सबै उमेर समूहलाई जोड्न सक्ने नेतृत्व हुनुपर्छ।
इतिहासको मूल्यांकन गर्दै नयाँ नेतृत्वको खोजी गर्नु जरुरी छ। शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री र कांग्रेस प्रजातान्त्रिक पनि गरेर दुई पटक पार्टी सभापति बनिसक्नुभएको छ। उमेर ८० को नजिक छ। सभापति फेरि पनि उहाँलाई नै चाहिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ८० वर्षकै नजिक हुनुहुन्छ। उहाँ पनि ३१/३२ वर्षदेखि शक्तिमै हुनुहुन्छ। उपसभापति र कार्यवाहक सभापति भइसक्नुभएको छ। विभिन्न सरकारी जिम्मेवारी पनि लिनुभएकै हो। २०४८ सालदेखि उहाँ धेरैपटक मन्त्री भइसक्नुभएको छ। अझै उहाँलाई पनि पद चाहिएकै छ। उहाँहरुले नै बाटो छेक्ने हो भने त्योभन्दा मुनिका कसरी नेतृत्वमा आउनसक्छन्? तसर्थ, अहिले कांग्रेसका लागि नेतृत्व चयन तथा परिवर्तन प्रमुख चुनौती बनेको छ। कस्तो नेतृत्व ल्याउने मतदातामा निर्भर हुने विषय हो।
मधेसबाट सभापति : ७५ वर्षमा पहिलो अवसर
कांग्रेस आन्दोलनको मुख्य भूमि तराई मधेस हो। कांग्रेसको ७५ वर्षको इतिहासमा पहिलो पटक मधेसी भूमिबाट नेतृत्वमा विमलेन्द्र निधिले दाबी गर्नुभएको छ। अहिलेसम्म पहाडी मूलबाट कांग्रेसको नेतृत्व भएको रहेछ। अब अर्को २५ वर्षसम्म हेर्दा पनि सभापतिमा दाबी गर्ने मधेसबाट कोही देखिँदैन। विगत ७५ वर्ष र आउने २५ वर्ष गरी एक शताब्दीमा मधेसबाट पहिलो पटक सभापति चयन गर्ने अवसर छ। यो अवसरलाई कांग्रेसले सदुपयोग गर्छ/गर्दैन चुनौतीको विषय हो।
लिगेसीकै आधारमा कोइराला परिवारका तीन जनाले सभापतिको दाबी गरिरहनुभएको छ। डा. शेखर कोइरालाले सक्रिय राजनीति सुरु गर्नुभएको २०६१ सालदेखि हो। कोइराला परिवारका अर्का नेता डा शशांक कोइराला २०६४ पछि सक्रिय राजनीतिमा देखिनुभएको हो। ७५ वर्षे कांग्रेसको इतिहास हेर्दा ५१ वर्ष कोइराला परिवारको नेतृत्वमा कांग्रेस सञ्चालित थियो। एउटै परिवारबाट ५१ वर्ष दल चल्नु ठीक हो वा होइन, त्यसको पनि मूल्यांकन हुनुपर्छ।
काठमाडौंबाट प्रकाशमान सिंहले सभापतिको दाबी गर्नुभएको छ। नेतृत्वको व्यवस्थापन गर्न सक्ने/नसक्ने अर्को चुनौती कांग्रेसका लागि छ। कांग्रेसमा क्रियाशीलको मूल्यांकन गरी नेतृत्व चयन गर्न कार्यकर्तालाई चुनौती देखिन्छ। महाधिवेशनमा उम्मेदवार भएर व्यक्तिगत रुपमा प्रतिश्पर्धा गर्नुपर्छ। समूह बनाएर प्रतिस्पर्धा गर्नुहुँदैन। गुटलाई कमजोर बनाउनका लागि पनि प्यानल बनाई प्रतिस्पर्धा गर्नुहुँदैन।
पद र पैसा भनिसकेपछि स्वतः आकर्षण हुन्छ। यो राष्ट्रिय रोग हो। राष्ट्रिय निर्वाचनमा पैसासँग टिकट बाँड्ने चलन छ। त्यो रोग कांग्रेसमा पनि सरेको छ। रोग कसरी सर्यो त? राष्ट्रिय चुनावका मतदाता कांग्रेसका पनि हुन्छन् नि। यस्तो प्रवृत्ति गाउँगाउँमा व्याप्त छ। पद, शक्ति र पैसा कांग्रेसमा अहिले कोसँग छ? स्वभाविक रुपमा सभापति देउवासँग छ। शक्ति, पैसा र पदको उहाँले सदुपयोग वा दुरुपयोग जे पनि गर्नसक्ने देखिन्छ।
वडा तहकै अधिवेशन गर्न पनि सत्ता र शक्तिको प्रयोग भइरहेको छ। नेतृत्व चयन अपारदर्शी तरिकाले डाङडुङको भरमा चुनिएको देखिन्छ। कांग्रेसमा प्रतिबद्ध असल कार्यकर्ताले पार्टी संरचनामा नेतृत्व प्राप्त गर्न कष्टकर छ। नेता हुन पनि मन छ। तर, पीडा भोगिरहनुभएको छ। विकृति सामना गरेर चुनाव लड्न कार्यकर्तालाई कठिन छ। हरेक संरचनामा नेतृत्वको चयन शक्तिका भरमा हुने अवस्था निर्माण हुँदै गएको छ। यी विकृति हटाउनका लागि पनि अब आउने नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिले विवेक पुर्याउनु पर्छ।
जुन प्रवृत्ति मौलाउँदै गएको छ, त्यसमै कांग्रेस पनि बग्दै गयो भने पार्टीको थप क्षयीकरण हुँदै जान्छ। लोकतान्त्रिक र चुनावी प्रक्रियामा ठूलो घात हुन्छ। सभापतिमा दाबी गरेका सबै आ आफ्नो स्थानमा बलियो होलान्। महाधिवेशन प्रतिनिधि चयन पश्चात् को आकांक्षी बलियो भनेर भन्न सकिन्छ।
कांग्रेस यो अवस्थामा पुग्नुमा सभापतिको पदमा रहेकाले प्रमुख जिम्मेवारी शेरबहादुर देउवाकै हो। उहाँ मात्रै एक्लो जिम्मेवार भने होइन। गलत प्रवृत्ति विकास हुँदै गएकाले समग्रमा हेर्नुपर्छ। देउवाले गलत कार्य गरेको अरुको निष्कर्ष हो भने किन एक ठाउँमा हुन सक्दैनन्?
कांग्रेस यो अवस्थामा पुग्नुमा सभापतिको पदमा रहेकाले प्रमुख जिम्मेवारी शेरबहादुर देउवाकै हो। उहाँ मात्रै एक्लो जिम्मेवार भने होइन। गलत प्रवृत्ति विकास हुँदै गएकाले समग्रमा हेर्नुपर्छ। देउवाले गलत कार्य गरेको अरुको निष्कर्ष हो भने किन एक ठाउँमा हुन सक्दैनन्? किनकि, त्यही गलत प्रवृत्तिको शिकार अरु पनि भइसक्नुभएको छ।
१३औँ महाधिवेशनमा देउवालाई निधिले सहयोग गरेर १४औंमा निधिलाई उहाँले सहयोग गर्ने सहमति थियो। तर, राजनीतिक इमान्दारिता देउवामा देखिएन। पहाडी मूलका ब्राह्मण क्षेत्री मात्रै कांग्रेसको सभापति हुनुपर्छ भन्ने छैन। प्रकाशमान सिंह वा निधिमध्ये एकलाई सभापतिमा देउवाले अघि सारे गुट अन्त्य हुने बाटो खुल्ने थियो। समावेशीको विषय पनि हुने थियो।
मधेसबाट सभापति, काठमाडौंबाट प्रधानमन्त्री र पहाडी क्षेत्रबाट राष्ट्रपति बनाउने विकल्प अघि सारे कांग्रेस झनै बलियो हुन्छ। रामचन्द्र पौडेल, निधि र सिंह एकठाउँमा आएर समझदारी गर्ने, त्यसलाई देउवाले समर्थन गर्ने हो भने कांग्रेस फेरि एक हुन्छ। कांग्रेस फुटाउन कोइराला परिवार लाग्दैन नै। देउवा, पौडेल, निधि, सिंह एक ठाउँ भएको बेला शेखर वा शशांकले ‘हामी लड्छौँ’ त नभन्नुहोला नि। सबैलाई एकस्थान ल्याउन मुख्य भूमिका देउवाको नै देखिनुपर्छ।
देउवा र पौडेलले विश्राम लिनुपर्छ
५८ वर्षको राजनीति हेर्ने हो भने कांग्रेसमा अहिले रामचन्द्र पौडेल सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। उहाँको राजनीतिक जीवन २०२० सालदेखि सुरु भएको हो। देउवाको राजनीतिक यात्रा मुलतः २०२५ सालपछि हो। नेविसंघको दोस्रो सभापति बन्नुभयो। त्यसपछि उमेरले शेखर कोइराला वरिष्ठ हुनुहुन्छ। निधि र सिंह सँगसँगै जस्तो देखिन्छ। उमेरगत मूल्यांकन गर्दा उहाँहरु पछि शशांक हो। त्यसैले उमेरको आधारमा बढी योगदान पौडेलकै देखिन्छ।
कांग्रेसमा पारिवारिक विरासतले राजनीतिमा उदाएका नेता पनि छन्। पारिवारिक विरासतविना आफ्नै बलबुतामा नेता भएका पनि छन्।
कांग्रेस कमजोर हुँदा दुई शक्ति बलियो भएको इतिहास छ। विगतमा राजा कांग्रेस कमजोर हुँदा नै बलियो थिए। त्यस्तै प्रजातन्त्रविरोधी शक्ति कम्युनिस्टहरु कांग्रेस कमजोर हुँदा नै बलियो भएका छन्। संविधानमा उल्लेखित ‘समाजवादन्मुख’ लाई टेकेर कम्युनिस्टहरुले वैज्ञानिक समाजवादको वकालत गर्नेछन्। उक्त व्यवस्था निरंकुश नै हुनेछ। कांग्रेस आफ्नै कारणले कमजोर भएको छ, र त्यसबेला लाभ उठाउने अन्य शक्ति छन्।
वरिष्ठ नेता पौडेलले ‘सभापति र मलाई एउटै डालोमा नराख’ भन्ने गर्नुुहुन्छ। उहाँ सभापति र प्रधानमन्त्री नबनेकाले परीक्षण नभएको भन्ने तर्क गर्नुहुन्छ। परीक्षण गर्ने कार्य उहाँको आफ्नै जिल्ला हुनसक्दैन? पार्टीमा भद्रगोल छ। त्यो भद्रगोल हुनुमा वरिष्ठ नेताको पनि हात छ। ४० प्रतिशतको दाबी उहाँले १३ औं महाधिवेशन सकिनासाथ सुरु गर्नुभयो। ‘एम्बुस’ थाप्ने कार्य त उहाँले गर्दै आउनुभएको हो। जुन व्यक्तिसँग पराजित भइयो, उसैले मनोनीत गरेपछि गुट चलाउन मिल्छ? नैतिकता र मूल्यको कुरा हुने हो भने उहाँ मनोनीत केन्द्रीय सदस्य बन्न हुने थिएन।
केन्द्रीय सदस्य नबनेर नै देशभर आफ्ना कुरा त उहाँले पुर्याउन सक्नुहुन्थ्यो नै। देउवाबाट मनोनीत भएर वरिष्ठ नेता हुने, अनि गुट चलाएर आफु निकटको संरक्षण गर्ने कार्य पौडेलबाट भयो। राजनीतिक रुपमा गैरजिम्मेवार र मूल्यहीन कार्य भयो। देउवाले दिएको पद खाएर गुटको विकास गर्दै जानुभएपछि उहाँको पनि परीक्षण भइसक्यो। भागवण्डा पाएपछि चुप लागेर बसेको देखिएकै छ। तनहुँमा उहाँकै कारण कांग्रेसको क्रियाशील सदस्यता नवीकरण नगर्ने सयौं छन्। सभापति हुनुभयो भने अरु जिल्लामा पनि त्यस्तै गर्नुहुन्छ।
अब देउवा र पौडेल दुवैले सक्रिय राजनीतिबाट विश्राम लिनुपछै। दुवैले एकै व्यक्तिलाई सभापतिमा समर्थन गर्ने हो भने गुट पनि अन्त्य हुन्छ।
(कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक दाहालसँगको वार्तामा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।