काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ।
जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएका हुन्।
गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए।
‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्। उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं’, गृहमन्त्री अर्यालले अन्तर्वार्तामा भनेका थिए।
तर, खड्का भिडियोमार्फत काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।