काठमाडौं- हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ ।
इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात् पहेंलो रेखा पारि इजरायली सेनामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
प्रवक्ताका अनुसार उक्त क्षेत्रबाट हालै इजरायली सेना पछि हटेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना प्रस्ताव अनुसार इजरायली सेना पछि हटेको एल्लो लाइन क्षेत्रमा हमासले आक्रमण गरेको प्रवक्ताले भनेका छन् ।
इजरायली सेना (आईडीएफ) ले आइतबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘आज बिहान आतंकवादीहरूले दक्षिणी गाजाको राफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकहरूमाथि एन्टी ट्यांक मिसाइल प्रहार गरेर गोलीबारी गरे ।’
जवाफमा आईडीएफले आतंकवादी गतिविधिका लागि प्रयोग हुने सुरुङ र अन्य सैन्य ढाँचालाई ध्वस्त पार्न त्यस क्षेत्रमा आक्रमण थालिएको बताएको छ ।
‘यो आतंकवादी गतिविधिहरू युद्धविराम सम्झौताको घोर उल्लघंन हो र आईडीएफले यसको जवाफ दिन्छ,’ इजरायली सेनाले भनेको छ ।
तर, हमासले भने युद्धविरामका लागि प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ । हमासले पनि इजरायलतर्फबाट युद्धविराम सम्झौता उल्लघंन हुँदै आएको आरोप लगाएको छ ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुसार गत १० अक्टोबरमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता लागू भएको थियो ।
जसअनुसार हमासले नियन्त्रणमा लिएका जीवित बन्धकलाई रिहा गरेको छ । साथै इजरायलले पनि प्यालेस्टिनी बन्धकलाई रिहा गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।